समय : ०२:२७ am | बुधबार , कार्तिक ६ गते २०८१

माण्डवीमा व्यवसायिक फुल खेती सुरु

राधिका भुषाल | कार्तिक २ गते २०८१

प्युठान । प्लास्टिक जन्य फूलको आयात कम गर्न माण्डवी गाउँपालिकामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । यस वर्षको भाइटीका अर्थात तिहार पर्वलाई लक्षित गर्दै फुलखेती गरिएको हो ।

माण्डवी गाउँपालिका–३ लामाचौर स्थित माण्डवी पुष्प खेती फर्म मार्फत झण्डै चार रोपनी जमिनमा सयपत्री फूल लगाएको फर्म संचालक चेतकला केसीले बताईन । ‘अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दै जाने योजना समेत बनाएकी छु। ‘माण्डवी गाउँपालिका–३ निवासी के.सी.ले भनिन्–‘सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम करिव ३ लाख जति आम्दानी गर्ने अपेक्षा राखेकी छु।’ फूलसँग रमाउनेरुची भएकोले सानैदेखि फूल प्रति आफ्नो मोह बढि हुंदा फुल खेती नै सुरुवात गरेको केसीले बताईन । 

साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । अहिले सम्म करिव २० किलो फुल बिक्री भईसकेको उनले बताईन । फुल प्रति किलो ६ सयका दरले बिक्री गरेको उनको भनाई छ ।

लोकल, कर्मा र जय किसान गरी तिन प्रजातीका फुल उनको बारीमा ढकमक्क फुलेको छ । फुल नेपालीको दोस्रो ठूलो पर्व तिहार समेत नजिकिँदै गएका बेला बारीभरी पहेँलपुर बनेको फूलले सहजै बजार पाउने चेतकलाको विश्वास छ । मकै र गहुँ  खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको उनले बताउछिन् । मकै भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर मकै र धान फूलखेती गरेको के.सी.को भनाइ छ ।

बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले समेत मनग्गे आम्दानी गर्न सकिने माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) ले जानकारी दिए । ‘हामीले माण्डवी गाउँपालिकामा प्लास्टिकको फुल प्रतिबन्ध गरेका छौ।’ अध्यक्ष अधिकारीले भने– ‘तिहारमा जतिसक्दो सयपत्री एवं प्राकृतिक रुपमा तयार भएका फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई प्रवद्र्धन गर्न अनुरोध गरेका छौ।’ गाउँपालिका पहिलो पटक व्यक्तिगत पहलमा सुरु गरिएको व्यावसायिक फूलको खेती राम्रो छ । फूल बिक्रीका लागि पालिकाले पनि सहजीकरण गरिनुका साथै आगामी वर्षमा फूलको व्यावसायिक खेतीका लागि इच्छुक किसानलाई पालिकाले सघाउने अध्यक्ष अधिकारीको भनाई छ । यसैगरी पालिका भित्र फरक–फरक व्यवसाय गरेमा बैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आउन सक्ने विश्वास समेत व्यक्त गरे ।

माण्डवी गाउँपालिका कृषि शाखा प्रमुख सनत के.सी.ले कृषि शाखाले उन्नत जातको बिउ उपलब्ध गराउनुको साथै प्राबिधिक सहयोग गरेको बताए ।       

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्