समय : ०८:४१ am | आइतबार , भाद्र २३ गते २०८१

बंगलाचुली गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

स्वर्गद्वारी अपडेट | असार १६ गते २०८१

बंगलाचुली गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
उपाध्यक्ष भक्तबहादुर जिसीले सार्वजनिक गर्नुभएको वार्षिक बजेटमा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५८ करोड ८० लाख ५४ हजारको बजेट रहेको छ । जसमा पूँजीगततर्फ २४ करोड ११ लाख र चालुतर्फ ३४ करोड ३९ लाख, त्यसैगरी तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्चतर्फ सात करोड ७५ लाख खर्च प्रस्ताव गरिएको थियो ।

कुल बजेटमध्ये नेपाल सरकारको अनुदानबाट ४२ करोड नौ लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ९० लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ३७ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ५२ लाख ११ हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट १ करोड ४२ लाख हुने अनुमान गरिएको छ । गाउँपालिकाको आफ्नो आम्दानी, संघ तथा प्रदेश सरकारका सबै प्रकारका अनुदान तथा राजश्व बाँडफाँडसमेतका आधारमा ५८ करोड ८० लाख ५४ हजार बराबरको राजश्व तथा व्ययको अनुमान पेश गरेको थियो।

गाउँपालिकाले परिस्कृत र मर्यादित जीवनयापनका लागि सर्वसुलभ, निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता भन्ने नारालाई प्राथमिकता दिँदै कुल बजेटको ४५ प्रतिशत बजेट शिक्षा र स्वास्थ्यमा छुट्याएको छ । बंगलाचुलीबासीको सर्वाङ्गीण विकासका लागि शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि संघ, प्रदेश सरकारबाट प्राप्त विभिन्न प्रकारका अनुदान तथा राजश्व बाँडफाँँड र आन्तरिक आयसमेतबाट खर्च व्यहोर्ने गरी २१ करोड ५० लाख र स्वास्थ्य क्षेत्रमा ५ करोड ८० लाख गरी जम्मा २७ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका माध्यमबाट विपन्न तथा वञ्चितिकरणमा परेका सबै जातजातिका महिला, वालवालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक, युवा किशोर, किशोरी दलित तथा जनजातिसमेतका लागि क्षमता विकास तथा सीप विकास गर्न ४० लाख विनियोजन गरिएको छ । यस्तै शहिद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा शहिद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि ७ लाख विनियोजन गरिएको छ । बालमैत्री स्थानीय शासन लागू गर्न ५ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य पर्यटनतर्फ ५९ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कृषि प्रणालीसँग आवद्ध गर्न २६ लाख, कृषि तथा पशुपालनका पकेट क्षेत्र विकास एवं विस्तार र साना किसान सहयोग कार्यक्रम परिचालन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९सुन्तला पकेट कार्यक्रम० का लागि १२ लाख, सम्वृद्धिका लागि वन विकास कार्यक्रममा ३५ लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी स्थानीय कृषि उद्यमशीलताको विकासका लागि सीपसँगै सहयोगका लागि लघुउद्यम विकास कार्यक्रमतर्फ १२ लाख, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२ लाख ५९ हजार, गाउँपालिकाको गौरबको आयोजना एक घर, एक धारा कार्यक्रम तर्फ ७० लाखसँगै विभिन्न खानेपानी आयोजनामा १ करोड ३० लाख गरी २ करोड, झोलुङ्गे पुलतर्फ १० लाख, चालु सडक, खानेपानी, सिंचाई, विद्युतीकरणलगायतका पूर्वाधार संरचनाहरुको निर्माण, मर्मत सम्भार र सञ्चालनका लागि विपत् व्यवस्थापन कोषमा १ करोड, मर्मतसम्भार कोषमा ५४ लाखसमेत गरी १ करोड ५४ लाख विनियोजन गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्