समय : ०६:३० am | शनिबार , श्रावण १२ गते २०८१

आफूमा भएको विज्ञतालाई अरुमा पनि स्थानान्तरण गरौं –बाल साहित्यकार आचार्य

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८०

नेपाली बाल साहित्यमा विजयराज आचार्य चर्चित नाम हो । प्यूठानको ऐरावती १ दाङवाङमा २०३३ साल माघ ९ गते पिता पिताम्बर आचार्य र माता मनकला आचार्यको सातौ सन्तानका रुपमा जन्मनु भएका उहाँ ३ दशकदेखि निरन्तर बाल साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ । उहाँ बाल साहित्य समाज नेपालका महासचिव पनि हुनुहुन्छ । १२० बढी पुस्तकहरु प्रकाशीत गर्नुभएका उहाँका सिर्जनाहरु पाठ्यक्रममा पनि छ्यापछ्याप्ति छन् । विजयराज आचार्य यस्तो पनि एउटा नाम हो जसले नेपाली बाल साहित्यमा सबै भन्दा बढी पुस्तकहरु लेखन र प्रकाशन गर्नुभएको छ ।  सिर्जनात्मक लेखन प्रशिक्षणकालागि प्यूठानमा आउँनुभएका उहाँसंग अर्का कवि घनश्याम अस्तित्वले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत छः

कथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र?

अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु लेखक बन्न पनि सक्दैनन् । कसैले आफ्नो क्षेत्रमा अरुलाई मार्गप्रशस्त गर्न चाहँदैनन् । मेरो एउटै उद्देश्य होः आफूमा भएको विज्ञतालाई अरुमा पनि स्थानान्तरण गरौं । त्यसैले काठमांडौको एक प्रतिष्ठित विद्यालयको प्रधानाध्याक लगायतका धेरै अवसरहरुलाई त्यागेर कथा लेखन प्रशिक्षणमा समर्पित भएको छु । डेढ बर्षदेखि यो यात्रामा छु र पाँचबर्ष पुगुन्जेलसम्म निरन्तरता दिनेछु ।

विद्यालयको प्रधानाध्यापकदेखि प्रकाशन गृहको निर्देशकसम्मको पेशा छाडेर यसरी समर्पित हुनु पछाडिका कारणहरु के के हुन्?

मेरो बुझाइमा साहित्य र शिक्षाको अन्योन्याश्रित सम्बन्ध हुन्छ । जुन देशको साहित्य समृद्ध हुन्छ त्यो देशको शिक्षा र संस्कृति पनि निश्चय नै समृद्ध हुन्छ । मेरो उद्देश्य पाँच बर्षमा २५० तालिम र १० हजार बढीलाई प्रशिक्षण दिनु हो । त्यतिलाई तालिम दिँदा बढीमा सय र घटिमा ५० जना स्थापित साहित्यकारको जन्म भयो भने मलाई यस धर्तीमा जन्मेको सार्थकता महशुस हुनेछ । यसको सुरुआत गर्दा मैले त्यो संकल्प गरेको थिए कि सकेसम्म देशका ७७ वटै जिल्लामा पुग्नेछु र प्यूठानका सबै पालिकामा अनिवार्य रुपमा तालिम दिनेछु । त्यसो हुँदा मलाई मेरो जन्म जिल्ला र मेरो देशप्रतिका दायित्व पुरा भएको महशुस गर्नेछु ।

तपाईँको यो यात्रा सुरु भएको डेढ बर्ष पुगेको बताउनुभयो । यो अवधिमा कति जिल्ला र कति तालिमहरु सम्पन्न गर्नुभयो?

अहिलेसम्म २५ भन्दा बढी जिल्लामा प्रशिक्षण सञ्चालन गरिसकेको छु । मेरो लक्ष्य बर्षमा ५० वटा तालिम गर्ने थियो । गत बर्ष ५५ वटा गरे । यो बर्ष अहिलेसम्म १६ वटा गरिसके । सुरुकै बर्षमा अपेक्षित भन्दा बढी गरेकाले मेरो लक्ष्य अवश्य पुरा हुनेमा विश्वस्त छु ।

प्रशिक्षणकालागि यसपटक नै प्यूठानमा तपाई पहिलो पटक हो कि यो भन्दा पहिला पनि आउनुभएको थियो?

यो नै प्यूठानमा पहिलो पटक भने होइन । २०७९ मंसिरमा जनता मावि बाग्दुलाबाट सुरु गरेको हुँ । ऐरावतीका सबै आधारभूत र माध्यमिक विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलाई चार प्रशिक्षण केन्द्र बनाइ तालिम प्रदान गरेको छु । ऐरावतीकै युवा सञ्जालबाट छानिएका २१ जनालाई बिजुवार स्थित होटल आयुस्मामा कालिका विकास केन्द्र प्यूठानको आयोजनामा तालिम सम्पन्न गरेको छु । माण्डवी गाउँपालिकाको माण्डवी मावि र प्यूठान नगरपालिकाको स्वर्गद्धारी क्याम्पसका विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिएको छु । एक महिना अवधिभरकालागि यसपटक तपाईँ प्यूठानमा आउनुभएको छ ।

कुन -कुन पालिका वा विद्यालयहरुमा पुग्ने योजनामा हुनुहुन्छ?

मेरो ध्येय त कम्तिमा प्यूठानका सबै पालिकाहरुमा कम्तिमा एउटा प्रशिक्षण सञ्चालन गर्ने रहेको छ । तर स्वर्गद्धारी, मल्लरानी, गौमुखी र नौबहिनीका केही विद्यालयहरुमा निश्चित भइसकेको छ । समयले साथ दिए माण्डवी, प्यूठान नगरपालिका, झिमरुक र सरुमारानीमा पनि कम्तिमा एकएक तालिम दिने लक्ष्यमा छु ।

यो एक महिनाको अवधिमा प्रशिक्षण दिनु मात्रै उद्देश्य हो कि अरु पनि केही छ?

प्रशिक्षणका साथसाथै आउँदो मंसिर ८ देखि ११ सम्म प्यूठानमै नेपाल बाल साहित्य समाजको २८ औं बाल साहित्य महोत्सव हुँदैछ । त्यसको तयारीमा पनि म संलग्न रहनेछु । यद्धपि त्यसको काम स्थानीय आयोजकहरुले व्यापक रुपमा गरिरहनुभएको छ । मैले प्यूठान सम्बन्धि मिथक, लोकभक्ति, इतिहास, संस्कृति, प्रकृतिको अध्ययन गरि एउटा बाल कथासंग्रहकालागि पनि काम गरिरहेको छु । त्यसको लागि थप अध्ययन यही अवधिभरमा गर्ने योजनामा छु।

अन्त्यमा केहि भन्नुहुन्छ ?

मंसिरमा राष्ट्रिय स्तरको बाल साहित्य सम्मेलन हुँदैछ । सय बढी ख्यातीप्राप्त बाल साहित्यकारहरु प्यूठानमा आउँदै हुनुहुन्छ । साहित्यका विभिन्न विधाहरुमा बालबालिकाहरुलाई प्रशिक्षण दिनुहुनेछ । बालबालिकाहरुसंग आफ्ना अनुभवहरु बाँड्नुहुनेछ । बालबालिकाहरुले पाठ्यपुस्तकमा अध्ययन गरिरहनुभएका स्रष्टाहरु पनि आउनुहुनेछ । यो अवसर प्यूठानका धेरै भन्दा धेरै बालबालिकाले प्राप्त गरुन् भन्ने मेरा चाहना छ ।महोत्सवमा बालबालिकाले आफ्ना सिर्जनाहरु पनि प्रस्तुत गर्ने र अग्रजहरुबाट पृष्ठपोषण प्राप्त गर्नुहुनेछ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page