प्युठान।आठ महिनादेखि अलपत्र अवस्थामा रहेको प्युठान जिल्ला अस्पतालको नयाँ भवनको निर्माण कार्य पुन:सुचारु भएको छ।१५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न एक वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र अवस्थामा रहेको हो ।
अस्पताल विकास समतिको अध्यक्षमा कृष्ण प्रसाद बस्याल (रोयल कृष्ण) नियुक्त भए संगै भवन निर्माण कार्यले गति लिएको हो।‘मेरो पहिलो प्राथमिकता नै अलपत्र अवस्थामा रहेको नयाँ भवन निर्माण गर्ने हो।’ अध्यक्ष बस्यालले भने, ‘तोकिएको समय भित्र भवन निर्माण सम्पन्न गर्ने निर्माण कार्य सुचारु भएको उनको भनाई छ।’ अलपत्र अवस्थामा रहेको भवन निर्माण सँगै डायलाईसिस सेवा पनि छिट्टै सुचारु गर्ने अध्यक्ष बस्यालले जानकारी दिए।
ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि.(नेपालगन्ज)ले २१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता लिएको थियो।सहरी विकास तथा भवन कार्यालय दाङले २०८० चैत्र ७ गते सुरु भई २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित उक्त कम्पनीले जिम्मा पाएको हो।
बिरामीको चाप बढिरहेको छ, तर पूर्वाधार अभावले चिकित्सक र स्वास्थ्यकर्मीहरू समेत दैनिकी काम गर्न असहज भएको मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए।
कार्यालयका अनुसार निर्माण हुने भवन भने जमिनमुनि (अन्डर ग्राउन्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्गमैत्री, बालमैत्री, भूकम्प प्रतिरोधी ५ तले भवन बन्न थालिएको हो।