समय : ०१:३० pm | आइतबार , माघ ११ गते २०८२

आज बसन्त पञ्चमीः सरस्वती पूजा र अक्षरारम्भ गर्ने दिन

सरस्वतीको पूजा विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले गर्ने गर्दछन्।

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०८२

प्युठान। आज बसन्त पञ्चमी मनाइँदैछ। यस अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ। आजकै दिन विद्यालय नपठाइएका बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ।

बसन्त पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको देख्न सकिन्छ। विशेषगरी बालबालिकालाई लेखपढमा प्रवृत्त गराउने उद्देश्यले आज पहिलोपटक अक्षर चिनाउने चलन प्रचलित छ। चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा तथा भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्ने गर्छन्।

विद्या र सिर्जनाकी देवीका रूपमा सरस्वतीको पूजा विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले गर्ने गर्दछन्। यस दिन उनीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा–आराधना गर्ने परम्परा छ।

तान्त्रिक साधकहरूले भने तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने विश्वास गरिन्छ। सूर्य उत्तरायणतर्फ लाग्दै दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘बसन्त पञ्चमी’ भनिएको हो। आजका दिन लेखपढ सुरु गराएमा राम्रो विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ।

यो पनि पढ्नुहोस्