प्यूठान।विजयफुलवारी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको सात वटा इलाकामा एकै पटक साधारण सभा सम्पन्न भएको हो।मुख्य कार्यालय जुम्री, शारदा मा.वि.सापडाडा, बालमन्दिर आधारभुत विद्यालय विजयनगर, जिल्ला समन्वय समितिको सभाहल खलंगा, भुवनेश्वरी मा.वि. खैरा, माण्डवी मा.वि नयाँगाउँ र बाल उद्यान पार्क कैरनमा साधारण सभा गरेको संस्था व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।
संस्थामा हाल ५ हजार ८ सय ५२ जना शेयर सदस्यहरु रहेका छन् भने शेयर पुँजी २ करोड ४५ लाख ७३ हजार पुगेको छ । त्यस्तै विभिन्न १० प्रकारका बचत खाताहरुबाट कारोवार सञ्चालन भई २३ करोड १९ लाख ५२ हजार ५ सय ८८ पुगेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले २ हजार ९५ जना सदस्यहरुलाई १८ करोड २९ लाख ५ हजार ६८ रुपैया ऋण लगानी गरेको छ । साथै २ करोड ५ लाख ६८ हजार ८ सय ५६ रुपैया जगेडा कोष रहेको छ भने संस्था कुल सम्पती २८ करोड ३६ लाख ८६ हजार ४ रुपैया पुगेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले भैपरि आउने जोखिमलाई मध्यनजर गरी सम्पूणहरुको सदस्यको रु १ लाख विमांकको दुर्घटना विमा गरिएको छ । त्यस्तै सुत्केरी भेटघाट, घाट खर्च तथा सदस्य राहत कोष, सहकारी रेडियो कार्यक्रम, तीज विशेष कार्यक्रम, क्षमता विकास कार्यक्रम, रत्तदान कार्यक्रम लगायतका प्रभावकारी एवं सदस्य केन्द्रित कार्यक्रमहरु गर्दै आएको छ ।
साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत समेत गरेकोे थियो।आगामी सोमबार सबै सेवा केन्द्रबाट प्रतिनिधित्व हुने गरी संस्थाको मुख्य कार्यालय जुम्रीको सभाहलमा साधारण सभाको निर्णय प्रमाणित सभा गरिने भएको छ।