समय : ०६:२५ pm | सोमबार , जेठ १९ गते २०८२

जस्पुरमा  सहकारी व्यवस्थापन तालिम सञ्चालन

सहकारी प्रशिक्षालय बाँकेको आायोजना र जिल्ला सहकारी संघ लि. प्यूठानको समन्वयमा तालिम सञ्चालन भएको हो।

राधिका भुषाल | जेठ १० गते २०८२

प्यूठान । माण्डवी गाउँपालिका ३ जस्पुरमा पाँच दिने सहकारी व्यवस्थापन तालिम सञ्चालन भएको छ । सहकारी प्रशिक्षालय बाँकेको आायोजना र जिल्ला सहकारी संघ लि. प्यूठानको समन्वयमा तालिम सञ्चालन भएको हो ।

शनिवार तालिमको उद्घाटन गर्दै माण्डवी गाउँपालिका प्यूठान अध्यक्ष नवराज अधिकारी ‘रोशन’ले सहकारीलाई व्यवस्थित गर्दै उत्पादन तर्फ जोड्नु पर्ने बताए । ‘हाम्रा सहकारीहरुलाई राम्रो र बलियो बनाउन यो तालिम महत्वपूर्ण छ ।’ अध्यक्ष अधिकारीले भने–‘अहिले सहकारीहरु अलि कमजोर छन् केही समयपछि सुदृढ हुदै जानेछन् ।’ सहकारीमा म र मेरो सहभागीता भन्ने विषयले महत्वपूर्ण अर्थ रहने उनले बताए ।

लुम्विनी कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष  टिकाराम पोख्रेलले मुल्य मान्यता र सिद्धान्त अनुरुप नचलेका सहकारी संस्थामा समस्या रहेको बताएका छन् ।  ‘प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र रहेका ८ सय ४८ सहकारी संस्था मध्ये २३ वटा सहकारी संस्थामा समस्या रहेका छन् ।’ उपाध्यक्ष पोखे्रलले भने–‘तर ठुलो संख्यामा रहेका सहकारीहरुले आर्थीक सामाजिक र सांस्कृतिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गरेका छन ।’ यस वर्ष लुम्बिनी प्रदेश, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तराईका ६ जिल्लाका ३१९ वटा सहकारी संस्थाहरुको कार्यसम्पादन मुल्याकंन गर्न २१ वटा टोली परिचालन गरिएको उनले बताए । मुल्याकंनको प्रारम्भिक चरणमा १ सय ५५ वटा सहकारी संस्थाको मुल्याकंनको नतिजा हेर्दा अधिकांश सहकारी संस्थाहरु राम्रा रहेको समेत उनले बताए । 

त्यस्तै जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले स्वनियममा सहकारीहरु चल्नु पर्ने बताए । मुल्यमान्यता र सिद्धान्तबाट कतिपय सहकारीहरु चुकेका कारण आज राज्यले नियमनका साथै कडा कानुन ल्याउनु पर्ने परस्थिति सिर्जना भएको बताए ।

तालिममा जिल्लामा क्रियाशिल सहकारीका व्यवस्थापक, सञ्चालक र नौ स्थानिय तहका सहकारी शाखामा कार्यरत कर्मचारी गरी २८ जनाको सहभागीता रहेको छ । उपाध्यक्ष पोख्रेल सहकारी अर्थ, अवधारणा, मुल्यमान्यता र  सुशासनको विषयमा प्रशिक्षण समेत दिएका थिए ।

तालिम अवधिभर सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्राचार्य आलोक कुमार ओझा, सहकारी प्रशिक्षक हुकुम बहादुर वली, प्रशिक्षक परशुराम न्यौपाने र नवराज बुढाले तालिमको सहजीकरण  गर्नेछन् ।  

यो पनि पढ्नुहोस्