समय : ०४:३८ am | शुक्रबार , कार्तिक १३ गते २०८२

प्रकाश, फूल र रंगोलीमा झल्किन्छ तिहारको भावना

प्रत्येक दियोको ज्योती, सयपत्री फुलका प्रत्येक थुँगा र रंगोलीका प्रत्येक रेखाहरूमा केहि न केहि अर्थ हुन्छ।

स्वर्गद्वारी अपडेट | कार्तिक ३ गते २०८२

तिहार आउन त शान्तसँग आउँछ तर यसले वरिपरिका सबै कुराहरू बदलिदिन्छ । हावाको महक बेग्लै हुन्छ, घरहरूमा न्यानो उज्यालो झल्किन्छ, रातहरू निकै अबेरसम्म चम्किरन्छन् । यही बेला हो उज्यालो पनि जीवन्त लाग्ने । प्रत्येक दियोको ज्योती, सयपत्री फुलका प्रत्येक थुँगा र रंगोलीका प्रत्येक रेखाहरूमा केहि न केहि अर्थ हुन्छ । तिहारमा घर सजाउनु भनेको सुन्दरताका लागि मात्र होइन, यो त उपस्थितिको अनुभूति पनि हो । यो भनेको प्रेम र उज्यालोले बिस्तारै घर भरिने समय हो ।

दियोको उज्यालो नै तिहारको चिनारी हो । दियो बाल्नुमा पनि बेग्लै आनन्दको अनुभूति हुन्छ । दियोहरू एक एक गरी बाल्दै जाँदा अन्धकार पनि बिस्तारै मलिन बन्दै जान्छ । परम्परागत रूपमा दियोमा तोरीको तेल र कपासको बाती प्रयोग गरिन्छ जो आफैंमा पवित्रता र आशाका प्रतिक हुन् । झ्याल, ढोका र बार्दलीमा दियो राख्दा देवी लक्ष्मीले घरमा समृद्धि र शान्त ऊर्जा लिएर आउने विश्वास गरिन्छ । अहिले त परम्परा र आधुनिकता सँगसँगै चलेका छन् । इलेक्ट्रिक दियो, फेरी लाइट र लालटिनहरूले नयाँ चमक दिन्छन् तर भावना भने पुरानै रहन्छ । यी सबै मिलाएर बनाएको सुनौलो उज्यालोले घरलाई एकैपटक परम्परागत र आधुनिक दुवैको अनुभूति दिलाउँछ ।

तिहारमा फूलहरूले घरमा जीवन थप्छन् । तिहारमा सयपत्री फूलको विशेष महत्त्व हुन्छ जसको सुन्तला र पहेंलो रङले दियोको उज्यालोलाई अझै चहकिलो बनाउँछ । घरमै सियो र धागोको सहायताले सयपत्रीका ताजा फूलहरू उनेर माला बनाउनु, बनाएका ती मालाहरूलाई झ्याल, भर्याङ वा ढोकामा लगेर झुन्ड्याउनु आफैंमा आनन्द र रमाइलो अनुभूति हो । यसले घरलाई एकैछिनमा सुवासिलो र उत्सवमय बनाउँछ । लामो समय टिक्ने सजावट चाहनुहुन्छ भने तपाईं सयपत्री फूलझैं देखिने सुकेका फूल वा कागजका मालाहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । ठ्याक्कै यहि नै चाहिन्छ भन्ने पनि त छैन, आखिर हाम्रो लक्ष्य भनेको घरलाई जीवन्त र न्यानो बनाउनका लागि सानो स्पर्श दिनु न हो ।

रंगोली तिहारको अर्को सुन्दर पक्ष हो, जसले यी सबै कुराहरूलाई जोड्छ । प्रायः घरको प्रवेशद्वारमा बनाइने रंगोली केवल सजावट होइन, यो त खुसी बोलाउने एउटा तरिका हो । रंगहरूको धुलो, फूलका पात वा चामलका दानाद्वारा परिवारहरूले स्वागत र शुभलाभका लागि विभिन्न आकृतिहरू बनाउँछन् । रंगोलीको साधारण डिजाइन पनि मनले बनाउँदा अति सुन्दर देखिन्छ । नयाँ प्रयोग गर्न मन पराउनेहरूका लागि आजकल टिकटकजस्ता प्लेटफर्महरू प्रेरणाको स्रोत बनेका छन्, जहाँ @sun_andshine1 वा @antima_acharya जस्ता क्रिएटरहरूले सरल र आकर्षक रंगोली, फूलको सजावट र डिआईवाई लाइटिङका छोटा भिडियोहरू पोस्ट गर्छन् । केही भिडियो हेरेपछि तपाईंलाई आफ्नै घरका लागि पनि नयाँ र कलात्मक आइडिया आउन सक्छ ।

तिहारको सजावट भव्य वा महँगो हुनुपर्दैन। प्रायः साना र सुविचारित कुराहरूले नै घरमा वास्तविक पर्वको भावना ल्याउँछन् । जस्तो कि, शान्त रातमा एउटा मसिनो दियोको उज्यालो, हावामा फूलको मन्दमन्द सुवास वा भित्तामा राखिएका बत्तीको हल्काहल्का चमक । चाहे यी सजावटका सामग्री तपाईं आफैंले बनाउनुहोस् वा बजारबाट किनेर ल्याउनुहोस्, यसले केहि फरक पार्दैन । फरक त तपाईं आफैंले सिर्जना गर्ने अनुभूतिले पार्दछ ।

यो तिहारमा आफ्नो घरलाई उज्यालो बनाउनु होस् । न्यानो उज्यालो दिने दियो बाल्नुहोस्, जगमगाउने रङसहितका मालाहरू झुन्ड्याउनुहोस् र केहि अर्थपूर्ण रंगोलीहरू कोर्नुहोस् । घरका प्रत्येक कुनामा तपाईंको आफ्नै रोजाईको शान्त, उज्यालो र जीवन्त लय झल्किन दिनुहोस् । किनकि, तिहारको वास्तविक सौन्दर्य भनेको घर कस्तो देखिन्छ भन्नका लागि होइन, यो त घरमा उज्यालो पस्दा कस्तो महसुस हुन्छ भन्नका लागि हो ।

यो पनि पढ्नुहोस्