प्युठान।गौमुखी गाउँपालिकाले किसानले खरिद गरेको बिरुवाको रकम भुक्तानी गरेको छैन।तिन वर्ष बितिसक्दा पनि पालिकाले सो रकम भुक्तानी नगरेको हो।
गौमुखी गाउँपालिका-६ लिबाङका कृषक पदम बहादुर केसी र विजय कुमार वलिबाट खरिद गरिएका बिरुवाको १२ लाख रुपैयाँ पालिकाले भुक्तानी नगरेको कृषक केसीले बताए।‘बिरुवाको ढुवानी समेत आफैँ गरे।’उनले भने,‘ किसानले समयमा भुक्तानी नपाउँदा अनेक काममा बाधा पुर्याएको छ।’ केसीले ७ लाख ५० हजार र वलीले ४ लाख ५० हजार भुक्तानी नपाएको बताएका छन्।तीन वर्ष बितिसक्दा पनि पैसा नपाएपछि कृषक केसीले मंसिर १ गते देखि पालिकामा आन्दोलन गर्ने समेत उनको भनाई छ।
यस विषयमा पालिका उपाध्यक्ष महाबिर रानाले फेसबुक वालमा लेख्दै टिमुर–कागती प्रवर्धन कार्यक्रमको लागि मागअनुसार बजेट नआएपछि तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्रीसँग सम्पर्क गरी कार्यक्रमको महत्त्व बुझाइएको र दोश्रो चरणमा पठाउने तयारीमा रहेको थियो।
बिगतमा बन कार्यालयबाट वितरण भएका टिमुरका बेर्ना उच्च पहाडी भूभागमा नजाने भएकाले स्थानीय नर्सरीमा अर्डर गरेर बिरुवा रोपिएको हो।तर विविध परिस्थितिका कारण बजेट पछि आएको थिएन र लिखित सम्झौता बिना मौखिक विश्वासमा योजना कार्यान्वयन गर्नु कमजोरी भएको उपाध्यक्षले स्वीकार गरेको पोस्ट गरेका छन्।
उपाध्यक्ष रानाले-यो कमजोरी संस्थाको नेतृत्वबाट नभएर व्यक्तिगत अनुभवजन्य र अपरिपक्क कारणले भएको हो। नेतृत्व र कार्यपालिकालाई सबै विवरण अवगत गराइएको छ र यसबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको समेत उनले लेखेका छन्।








