समय : ०६:४३ am | आइतबार , जेठ १८ गते २०८२

भारतको बसाइलाई बिट मार्दै तरकारी खेतीमा रम्दै:मेनुका दम्पती 

जग्गा बाहेक टनेलहरु बनाउने, सिचाईको व्यवस्था, कुखुरा खोर निर्माण, कृषिऔजार लगायतको लागि करिब २५ लाख लगानी गरिसकेको बसन्त घर्तीले बताउछन् ।

राधिका भुषाल | जेठ ४ गते २०८२

प्यूठान।१२ वर्ष भारतको राजस्थान बसेकी मेनुका कुमारी घर्तीको दम्पती अहिले आफ्नै माटोमा पसिना बगाउन थालेका छन्।यि दम्पतीले माण्डवी गाउँपालिका २ रातापानीमा करिब ११ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन्।२०७२ सालमा आफ्ना श्रीमान घन बहादुर घर्ती (बसन्त) संगै नेपाल फर्केर २ लाख ५० हजार लगानीमा तरकारी व्यवसाय सुरु भएको मनुकाले बताइन।

मेनुका तरकारी उत्पादन तथा सप्लार्यस फर्म दर्ता गरी व्यवसायीक कृषि खेती थालेको उनले बताइन । ‘थोरै जग्गामा तरकारी लगाएर व्यवसाय सुरु गरेका थियौं ।’ मेनुकाले भनिन्–‘अहिले करिब ११ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी तरकारीहरु फलाउदै आएका छौं ।’ केही समय कुखुरा पालन गरेको बताउदै भैसी र बाख्रा पनि पाल्दै आएको उनले बताइन । उत्पादन गरेको तरकारीजन्य बस्तुले राम्रै बजार पाउने गरेको उनको भनाइ छ ।

व्यवसायीक योजना बनाएर २०६५ सालमा १ लाख ७० हजारमा १३ रोपनी जग्गा खरिद गरेको बसन्तले बताए । ‘दाङको घडेरी बेचेर रातापानीमा जग्गा किनेका  थियौं ।’ बसन्तले भने–‘आफु जन्मेहुर्केको ठाउँमा पसिना बगाउनु पर्छ भनेर १२ वर्ष भारतमा दुःख गरेको कमाइ आफ्नै ठाउँमा लगानी गरेको हुंँ ।’ अहिलेको १३ रोपनी जग्गाको मुल्य करिब ४५ लाख सम्म पर्ने उनको भनाइ छ ।

जग्गा बाहेक टनेलहरु बनाउने, सिचाईको व्यवस्था, कुखुरा खोर निर्माण, कृषिऔजार लगायतको लागि करिब २५ लाख लगानी गरिसकेको बसन्त घर्तीले बताउछन् । ‘मैले उत्पादन गरेको तरकारी विचौलियाको हातमा दिएको छैन् ।’ उनले भने–‘प्यूठानका बजारी क्षेत्रमा तरकारी बेच्न म आफै पुग्ने गर्दछु ।’ साँच्चीकै कृषिकर्म गरेर जीवन धान्ने किसानको लागि सरकारले प्रोत्साहन नदिएको उनको गुनासो छ । बजारीकरणमा विचौलिया सताउने सरकारले नक्कली किसानका प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

धेरै पहिले गाउँपालिकाले सिचाईका लागि पोखरी बनाउन सहयोग गरेको उनले बताइन् । ‘अनुदान पाइन्छ भनेर तरकारी खेती गरेको त होइन ।’ मेनुकाले भनिन्–‘तर, गाउँमै बसेर व्यवसायीक रुपमा तरकारी खेती गर्ने किसानलाई सरकारले हौसला दिनुपर्छ ।’ उनले  दैनिक ३ जना देखि ६ जना स्थानियलाई रोजगारी समेत दिदै आएकी छिन् । ‘भारतबाट आउदा सानो घर र थोरै जग्गा मात्रै थियो ।’ उनले भनिन्–‘अहिले जग्गा थप्दै गएकोले आफनै जग्गामा प्रशस्तै तरकारी खेती गर्न पाइएको छ ।’

यो सिजनमा करिब १५ क्विन्टल टमाटर बजार लैजाने लक्ष्य रहेको उनका छोरा विष्णु बहादुर घर्तीले बताउछन् । यो सिजनमा झन्डै ७० प्रतिशत जमिनमा लटरम्म टमाटर फलेको छ भने बाँकीमा सिम्लामिर्च, बोडी, सिमि, करेला, लौका लगायतका तरकारीहरु फलेका छन् । दुइ छोरीको बिबाह भइसकेको बताउने उनले जेठो छोरा, बुहारी, नातिनी र कान्छो छोराले काममा सघाउने गरेको बताइन । उता श्रीमानले अटो किनेर तरकारी बेच्न बजार–बजार पुग्ने गरेको उनको भनाइ छ ।

लामो समय देखि मेनुकाको तरकारी फर्ममा काम गर्दै आएका डम बहादुर बि.क.ले गाउँमै रोगजारीको अवसर पाएपछि भारतको नोकरी छोडेर गाउँमै बस्न थालेको बताउछन् । बुहारी सोनिया बि.क.ले र आफुले दैनिक ज्यालादारी काम गर्दै आएको उनले बताए ।

यो पनि पढ्नुहोस्