समय : ०४:५५ pm | आइतबार , भाद्र २१ गते २०८३

प्यूठानको साहित्यिक फाँटमा विष्टको ‘मनमल्लिका’ कविता संग्रह

हाल नेपालका विभिन्न साहित्यिक संस्थाहरूले औपचारिक कार्यक्रममार्फत मनमल्लिका सार्वजनिक गरिरहेका छन्।

स्वर्गद्वारी अपडेट | श्रावण ७ गते २०८३

प्रकाश बैद्य

प्यूठान।प्यूठानको साहित्यिक क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा साहित्यकार विकास विष्टको कविता संग्रह मनमल्लिका' प्रकाशित भएको छ।

प्यूठान नगरपालिका–३, विजयनगरमा जन्मिएका तथा हाल अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाउँदै आएका विष्टले विदेशमा रहेर पनि मातृभूमिप्रतिको गहिरो माया र सामाजिक सरोकारलाई साहित्यमार्फत अभिव्यक्त गर्दै नयाँ कृति सार्वजनिक गरेका हुन्।

तीन दशकदेखि कविता, गीत तथा साहित्यिक सिर्जनामा सक्रिय विष्टले यसअघि वि.सं. २०७१ मा 'मनको वह' गीतसंग्रह प्रकाशित गरेका थिए। उनले फेसबुकले के यस्तो गरायो, हाम्रो साक्षात, चलचित्र नमेटिने घाउ र वृद्ध बर्न इन नेपाल लगायतका गीत सिर्जना गरेका छन्। उनका दर्जनौं गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भई म्युजिक भिडियोसमेत निर्माण भएका छन्।

रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाबाट प्रकाशित मनमल्लिका कविता संग्रहले विदेशमा बसे पनि जन्मभूमिप्रतिको गहिरो चिन्ता, गाउँको माटोप्रतिको प्रेम र नेपाली समाजप्रतिको संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

संग्रहको सुरुवात 'आमा'शीर्षकको गीतिकविताबाट गरिएको छ। कृतिमा गरिबी, सामाजिक विभेद, गाउँले जीवन, नेपाली भेषभूषा, आधुनिक समाजको कृत्रिमता तथा मानवीय संवेदनाजस्ता विषयलाई सरल र भावपूर्ण शैलीमा प्रस्तुत गरिएको छ।कविताहरूले पाठकलाई आत्मचिन्तन, सकारात्मक परिवर्तन र सामाजिक अन्यायविरुद्ध सचेत बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

विदेशबाट प्यूठानलाई साहित्यिक उपहारका रूपमा प्राप्त मनमल्लिका जिल्ला तथा नेपाली साहित्यका लागि गौरवको विषय बनेको साहित्यप्रेमीहरूको भनाइ छ। समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन यस कृतिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हाल नेपालका विभिन्न साहित्यिक संस्थाहरूले औपचारिक कार्यक्रममार्फत मनमल्लिका सार्वजनिक गरिरहेका छन्।प्यूठानमा पनि निकट भविष्यमा विशेष कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिने तयारी भइरहेको कवि विकास विष्टका दाजु गुणेन्द्रबहादुर विष्टले जानकारी दिए।

यो पनि पढ्नुहोस्