पौडेलको अल्पायुमै निधन , देशभरका पत्रकारहरु शोकाकुल
स्वर्गद्वारी अपडेट प्यूठान । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभूवन पौडेलको आज आइतवार विमान दुर्घटना परी निधन भएको छ ।
बिहान काठमाण्डौबाट पोखराका लागि उडेको नाइन एन एएनटी एटिआर –७२ जहाज अवतरणका क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीच खोंचमा दुर्घटना हँुदा दुखद निधन हुन पुगेको हो ।
नेपाली पत्रकारिता क्षेत्रको एउटा आशाको किरण उर्जावान युवा पत्रकारका नेता पौडेलको ३७ बर्षको अल्पायूमै भएको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षेती हुन पुगेको । माघी पर्वको दिनमा भएको यो घटनाले आज नेपालका क्रियाशील पत्रकारहरु शोकमग्न बनेका छन् । पत्रकार पौडेल सहित बिमानमा सवार ७२ जना मध्ये ६८ जनाको निधन भएको स्रोतले अवेर सम्ममा पुष्टी गरेको छ । कास्कीमा रहेर बिभिन्न संचार माध्यममा आबद्ध रहदै पत्रकारिता गर्दै आएका पौडेल पछिल्लो समय हटलाइन न्यूज डट कमका प्रकाशक÷सम्पादक थिए ।
पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सचिव तथा उपाध्यक्ष र ०७४ मा पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्ष हुँदै २०७७ चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । देशभरीका पत्रकारहरुका लोकप्रिय तथा आशाका केन्द्र पौडेलको यो निधन नेपाली पत्रकारिता क्षेत्रका लागि ठूलो क्षेती हो । आजै अध्यक्ष बिपुल पोखरेलको अध्यक्षतामा बसेको नेपाल पत्रकार महासंघको आकस्मिक रुपमा बसेको बैठकले माघ २ गतेका दिन केन्द्र, प्रदेश र सवै शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ भने महासचिव रोशन पुरीले शोक बक्तब्य जारी गर्दै महासंघ माताहतका सवै कार्यालयहरुमा १३ औं दिनसम्म शोक पुस्तिका राख्न अपिल गर्नु भएको छ ।
यसैगरी प्रेस सैन्टर नेपालले पनि शोक बक्तब्य मार्फत हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । पीडादायी यो क्षणमा हाम्रो एकता प्रकाशन परिवार एउटा संभावना बोकेको तारा खसेकोमा यतिवेला भावबिह्रल बनेको छ । यो घडीमा स्व. पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछ ।