मासिक राशिफल
असार २०७९
मेष - ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महिनाकाे पूर्वार्ध खर्चिलाे रहनेछ तापनि धेरै समस्या स्वतः समाधान हुनेछन्। मिहिनेतकाे परिणामले उत्साह जगाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। तारिफयोग्य काम गर्दै यश लिने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। शत्रुता साध्नेहरू पछि हट्नेछन्। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ।
वृष - TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यमा पित्तदोषले केही समस्या निम्त्याउनेछ। टाउको दुख्ने, पिनास, नाक, दाँत वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। शक्तिका लागि धन खर्च हुनेछ। बल प्रयोग गर्नुपरे पनि काम सम्पादन हुनेछन् र आय आर्जन हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। वादविवादमा अघि नसर्नुहोला। गर्मी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।
मिथुन - GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
यो महिनाभरि शीर्षस्थानमा रहने सूर्यको प्रतापले आत्मबल प्राप्त हुनेछ। तर उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा समय–समयमा केही नसाेचेका समस्या समेत आउन सक्छन्। समस्या पर्दा आफन्तले समेत साथ नदिने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग पनि संघर्ष भइरहनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताउन सक्छ। महिनाकाे उत्तरार्धमा स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। अरूको आलोचनाबाट कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ।
कर्कट - CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुकाे आयस्रोत राम्रै देखिए पनि अध्ययनबिना खर्चिलो काममा हात हाल्नाले महिनाभरि अर्थअभावले सताउन सक्छ। हठले समस्या निम्त्याउनेछ भने कमजोरी नसच्याउँदा थप नोक्सान हुन सक्छ। व्यापारमा पनि मन्दी आउने देखिएकाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। परिस्थितिवश कार्ययोजना स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउने हुँदा सावधान रहनुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवादमा अघि नसर्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले जोखिम हुने काम, हातहतियार र सवारीमा सावधानी अपनाउनुहोला।
सिंह - LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका धेरै काम बन्नेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। महिनाको पूर्वार्धमा चाेटपटककाे याेग देखिएकाले काम गर्दा सावधानी अपनाउनुहोला।
कन्या - VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। मिहिनेतीहरूलाई कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। आयस्रोत सबल हुनेछ, स्रोत–साधन जुट्नेछन् र कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। प्रयत्न गर्दा देशविदेशको यात्रा हुन सक्छ। महिनाकाे उत्तरार्धमा धनहानि र स्वास्थ्यबाधाकाे याेग रहेकाले यात्रा, सवारी तथा जाेखिमपूर्ण काममा सावधान रहनुहाेला।
तुला - LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो महिना केही संघर्षमय रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिका लागि कर्म सञ्चय गर्ने समय छ। अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सुझबुझले काम लिँदा पुरानो विवाद समेत सम्झौतामा टुंग्याउन सकिनेछ। रोकिएको काम थालनी गर्न सकिनेछ। अध्ययन र व्यापारमा समय दिन नसकिएला। कर्मयोगले उचाइको बाटो समाउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ।
वृश्चिक - SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनेछ भने आँटले काम लिन नसक्दा पछि परिनेछ। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। सञ्चित रकम खर्च हुनेछ। आम्दानी बाहिरिनुका साथै अर्थ अभावले सताउन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। खराब आचरण भएका व्यक्तिहरू नजिकिन सक्छन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। सरकारी काममा वैधानिक प्रावधानले समस्या निम्त्याउन सक्छ। पारिवारिक सहयोगले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि बढ्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउन भने सफल भइनेछ।
धनु - SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवेश रमाइलो देखिए पनि महिना खर्चिलो रहनेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ। नयाँ व्यवसाय थाल्ने योजनामा हुनुहुन्छ भने आफ्नैले पनि अवरोध पुर्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा अवसर गुम्ने सम्भावना देखिन्छ। उत्तरार्धमा शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। मिहिनेतले सफलता दिलाउनेछ।
मकर - CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम थालनी हुने समय छ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। महिनाकाे उत्तरार्धमा पारिवारिक असमझदारी बढ्नेछ। मित्रताका नाउँमा अवसरवादीहरू नजिकिन सक्छन्, गाेपनीयतामा सजग रहनुहाेला। मिहिनेतले सफलता दिलाउनेछ। आर्थिक पक्ष सबल बन्नेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।
कुम्भ - AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थता र कामको चापले बाधा पुर्याउनेछ र व्यवसायमा मन्दी आउनेछ। साझेदारीमा मतभेद र सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। केही दौडधुप गर्नुपरे पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। व्यापारमा समय दिन नसक्दा लाभांश कममात्र मिल्नेछ। सरकारी काममा वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। केही चुनौती देखिए पनि लगनशीलताले जीवनशैलीमा परिवर्तन आउनेछ। भौतिक साधन र सहयोगी जुट्नेछन्। मिहिनेतले सफलता दिलाउनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। सामान्य काममा अलमलिनुभन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले काम लिन सकिनेछ।
मीन - PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो महिनामा आन्तरिक तथा बाह्य समस्याले मन अशान्त बन्न सक्छ। परिवारमा असमझदारी बढ्नाले काममा बाधा हुनेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउनाले आफन्तमाझ एकताको भावना विखण्डित हुनेछ। निकटजनहरूसँग दूरी बढ्नेछ। महत्त्वाकांक्षाले सामाजिक चेतना खलबल्याउन सक्छ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्। व्यापारमा चिताएको लाभ नहुन सक्छ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। तर तत्काल विरोध सामना गर्नुपरे पनि दीर्घकालीन महत्त्वका कार्यहरू थालनी हुनेछन्। साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बन्नेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।






