२९-वैशाख/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए । मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आइसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए । बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छ । मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ । लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।  मायादेवी मन्दिरमा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । मोदी लुम्बिनीमा २ देखि ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ ।