प्यूठान । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले देश अहिले इतिहासकै गम्भीर संकटमा पुगिसकेको बताएका छन्। प्रगतिशिल पत्रकार संघ नेपाल, जिल्ला समिति प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जेन्जी आन्दोलन पछि देश अझै संकटमा परेको बताएका हुन।
सिंहले जेन–जी समुहकोे नेतृत्व, विधी सिद्धान्त नभएकाले जेन–जी आन्दोलनको दुरुपयोग भएको बताए । आन्दोलनसंगै गलत प्रवृत्तिका व्यक्ति, प्रतिगमनकारी शक्ति र विदेशी प्रभाव हावी भएकाले देश जोखिमपूर्ण दिशातर्फ गएको उनी बताउछन् । ‘जेन–जी आन्दोलनमा धेरैजना आफ्ना स्वार्थका लागि घुसेका छन्।’ उनले भने–‘अहिलेसम्मको इतिहास हेर्दा सहिद हुनेहरु जेन–जी समुहकै छन् त्यसकारण परिवर्तनको निम्ती यो उमेर समुहको महत्वपुर्ण भुमिका देखिन्छ ।’ भाद्र २३ गते भएको जेन–जी समुहको आन्दोलन माथि दमन भएको बताउदै त्यसको मुख्य जिम्मेवार तत्कालिन सरकारले लिनु पर्ने बताए ।
‘आन्दोलन माथि दमन गर्ने मुख्य जिम्मेवारी व्यक्ति केपी ओली नै हुन ।’ सिंहले भने–“ओली नेपालको राजनैतिक इतिहासमा अधिनायकवादी नेता हुन ।’ भाद्र २४ गते घटना जेन–जी समुहबाट नभएको बताउदै आन्दोलनको दुरुपयोग भएको बताए । आन्दोलन नेतृत्व विहीन र अस्पष्ट भएको उनको दाबी छ ।
महामन्त्री सिंहले अहिलेको राजनीतिक अवस्था हेर्दा तोकिएको समयमा निर्वाचन हुन कठिन रहेको बताए । उनका अनुसार– ‘कसैले अन्तरिम संविधान बनाएर निर्वाचनमा जाने, कसैले संविधान संशोधन गर्ने, कसैले प्रत्यक्ष कार्यकारी प्रमुखको माग गर्ने, यस्ता विविध मतबीच स्पष्ट दिशा देखिँदैन।’
‘नेपालीले राणा शासनको अन्त्य गरे, पञ्चायती शासन परास्त ग¥यो, ०५९ सालमा राजा ज्ञानेन्द्रको ‘कू’ लाई पनि जनताले हराए,’ सिंहले ऐतिहासिक संघर्षहरू स्मरण गर्दै भने, ‘तर अहिलेको संकट ती सबैभन्दा फरक र गम्भीर छ। किनभने यसमा भारत र अमेरिकी साम्राज्यवादले समेत प्रत्यक्ष घुसपैठ गरेको छ।’
सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी निर्णयबारे पनि उनले प्रतिक्रिया दिए। महामन्त्री सिहंले भने, सरकारले कानुन नबनाई ठाडो रूपमा प्रतिबन्ध लगाउँदा आन्दोलनलाई झन् बल मिल्यो । ‘सामाजिक सञ्जालले अराजकता फैलाएको थियो, नियन्त्रण आवश्यक थियो, त्यसलाई नियमन गर्नुपर्छ हाम्रो पनि थियो तर प्रक्रिया गलत भयो।’ ‘आन्दोलनको क्रममा राष्ट्रिय जनमोर्चाको कार्यालय माथि हमला गर्नु पर्ने कुनै आधार छैन ।’ उनले भने– ‘हामीले जतिपनि राज्यसत्तामा पुगेका थियो एकपैसा पनि भ्रष्ट्राचार गरेनौ ।’ निर्वाचनको मिति तय भएको छ, संविधान मार्फत हुन्छ या हुदैन कुनै टुंगो नभएको उनको भनाइ छ।
आगामी निर्वाचनमा सहभागी हुने बताउदै कुनैपनि दलसंग तालमेल नगरि देशैभर एक्लै चुनावी मैदानमा होमिने तयारी भएको बताए।








