रोल्पा।लुंग्री गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट औपचारिकरूपमा सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह बनेदेखि नै भाडाको भवनमा निर्भर रहँदै आएको गाउँपालिकाले करिब आठ वर्षपछि स्थायी भवन निर्माण सम्पन्न गरी आफ्नो सेवाको दायरा अझ सुदृढ बनाउन सफल भएको हो ।
यसअघि साँघुरा कोठा र असुविधाजनक भौतिक संरचनामार्फत सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही अब भने सुविधासम्पन्न चारतले भवनभित्रै एउटै छानामुनि आवश्यक सम्पूर्ण सेवा पाउने भएका छन् । भवन सञ्चालनमा आएपछि कर्मचारीलाई कार्यसम्पादन गर्न सहज भएको र सेवाग्राहीलाई पनि सहजरूपमा सेवा लिन सकिने वातावरण बनेको गाउँपालिका नेतृत्वले जनाएको छ ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० गते सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने प्रावधान थियो । सोहीअनुसार निर्माण कम्पनीले २०८१ पुस २० गतेनै कार्य सम्पन्न गरी समयमै जिम्मेवारी पूरा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले जानकारी दिए ।
भवन निर्माणको लागि प्रारम्भिक सम्झौता रकम ७ करोड ४३ लाख ८४ हजार तोकिएको भए पनि कार्यसम्पादन र प्राविधिक मूल्यांकनपश्चात् कम्पनीलाई ६ करोड ९२ लाख ३ हजार रूपैयाँ भुक्तानी गरिएको हो । गाउँपालिकाले भवन संरक्षण, मेसिनरी वाल, मैदान निर्माण तथा भवनको घेराबारका लागि आफ्नै स्रोतबाट थप ४७ लाख २० हजार रूपैयाँ खर्च गरेको समेत जानकारी दिइएको छ ।