समय : ०६:२५ pm | शुक्रबार , मंसिर १९ गते २०८२

सामाजिक सञ्जालको प्रतिबन्ध आजैदेखि : सञ्चारमन्त्री गुरुङ

स्वर्गद्वारी अपडेट | भाद्र १९ गते २०८२

काठमाडौँ – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय आजैबाट कार्यान्वयन हुने बताएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे जानकारी दिँदै मन्त्री गुरुङले निर्णय बिहीबारबाटै लागू हुने र दर्ता गर्न आएमा सोही दिनबाट खुला हुने बताए।

‘सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गर्न आएमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल सरकार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको व्यहोरा सबैलाई अवगत छ। आजैबाट लागू हुन्छ। दर्ता गर्न आए आएकै दिनबाट खुला हुन्छ,’ उनले भने।

सर्वोच्च अदालतले पनि सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्न आदेश दिएको भन्दै उक्त आदेश पालना गराउन पनि उक्त निर्णय गरिएको उनको भनाइ छ।

‘सर्वोच्च अदालतका प्रधान्यायधिशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा नम्बर २०८० सीएफ ००११२ मा स्वदेशी तथा विदेशी उत्पतिको अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्य रुपमा सम्बन्धित निकायमा सूचीकरण गर्न गराउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।’

सञ्चारमन्त्री गुरुङका अनुसार नेपालमा सञ्चालित भएका सामाजिक सञ्जाल कति छन् भनेर सञ्चार मन्त्रालयले अध्ययन गरेको थियो।

करिब २४/२५ वटा ठूला, मझौला खालका छन्। मेटा कम्पनी ठूलो खालको सामाजिक सञ्जाल हो। यी सबै आजका मितिबाट निष्कृय हुनेछ। सूचीकरणका लागि एकपैसा पनि नलाग्ने हुँदाहुँदै अटेरी गर्नेहरुमाथि कठोर कदम चालिएको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्