प्युठान।दुर्गम बस्ति मानिने नौबहिनी गाउँपालिका-७ मैरामारे देखी प्युठान नगरपालिका जुम्रीकाँडासम्म मोटरबाटोको ट्रयाक खुलेको छ।दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्षदेखिको प्रयास सफल भएको हो।
उक्त बस्ति सम्म मोटरबाटो पुग्न २०७८ सालमा सुरु गरिएको योजनामा स्थानीयले पाँच हजारदेखि २५ हजार रुपियाँसम्म चन्दा उठाएका थिए।नागनगेनीभीरको अप्ठ्यारो पहरा छिचोल्न नसक्दा सडक निर्माण रोकिएको थियो।ब्रेकर प्रयोग गरी एक महिनाको मिहिनेत पछि उक्त पहरा फोरेर सडक खोल्न सफल भएको हो।गाउँपालिकाको निरन्तर प्रयासमा करिव एक करोड ५० लाख रुपियाँ खर्च भइसकेको छ। चालू आर्थिक वर्षमा मात्रै १९ लाख रुपियाँ विनियोजन गरेर ठेक्कामार्फत निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाले बताएको छ।
स्थानीयवासीले वर्षौंको सपना पूरा भएको भन्दै सडकले आवतजावत सहज बनाउने विश्वास व्यक्त गरेका छन्। रोल्पाको सिर्प र जुतुङखोलाका बासिन्दाले समेत सडकबाट लाभ लिने छन्।

गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले ट्रयाक खुलेको सडकमा अब नियमित सवारी सञ्चालनका लागि पहल थालिने जानकारी दिए। “पूर्वाधार विकासले दुर्गम गाउँमा खुसी र आशाको किरण ल्याएको छ।” अध्यक्ष थापाले भने,ʻसडक खुलेको खुसीमा स्थानीयवासीले नाचगानसहित उत्सव मनाए। साथै, निर्माणमा योगदान पुर्याउने झिमरुक–७ तुषाराका मेसिन अपरेटर सुदर्शन जी.सी. र गौमुखी गाउँपालिका–४ पुँजाका विक्रम के.सी.लाई चार हजार ८१० रुपियाँ नगद, नगद माला र फूलमालासहित सम्मान गरिएको छ।
यसैबीच, संघीय समपूरक बजेटअन्तर्गत ४२ करोड रुपियाँ लागतमा स्याउलीबाङ सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ।