समय : ०८:५६ am | शुक्रबार , फागुन १५ गते २०८२

आज २५६७औँ बुद्ध जयन्ती देशभरी नै विभिन्न कार्यक्रम मनाईदै

स्वर्गद्वारी अपडेट | वैशाख २२ गते २०८०
 स्वर्गद्वारी अपडेट समचार डेक्स । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर  मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभएको थियो । काठमाण्डौको बौद्ध, स्वयम्भू, चाबहिलमा रहेको चारुमति विहारलगायत बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा विभिन्न कार्यक्रम हुँदैछ ।बुद्ध जयन्ती अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज विशेष कार्यक्रम हुँदैछ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिङ्गारिएको छ ।मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती जडान गरिएको छ । आज हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बताउनुभयो ।
 

यो पनि पढ्नुहोस्