झिमरुक गाउँपालिका द्वारा चिस्यान केन्द्र भवनको शिल्यान्यास,भवन निर्माण पश्चात् कृषकले मौसमी तथा बेमौसमी तरकारी राख्न सक्ने भन्दै खुसियाली
केसरी घर्ती मगर प्युठान, प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको आज शिल्यान्यास गरेको छ।
आज एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं । ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले गर्नुभएको थियो ।
चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष महतराले भन्नुभयो , "निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने छन् ।" हाम्रो क्षेत्र कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी सुन्तला र आलु लाई स्टोरमा भण्डारण गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतराले बताउनुभयो ।
कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेतीलाई उचित ब्यवस्थापन गर्न सकिने उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले सुझाव समेत दिनुभएको छ ।
बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा सम्झौता गरिएको आयोजनाको आ ।ब ।२०७९०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ । रविना जुगल इभिना जेभि निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गरेको छ।
कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासी लगायतको उपस्तिथि रहेको बताईएको छ ।








