समय : ०७:४० pm | आइतबार , चैत्र १५ गते २०८२

स्वर्गद्वारी नगरपालिकाको कर्मचारीको डेरा काठमाडौंमा, हाजिर पालिकामा   

उपप्रमुख मिनराज राना मगरले आफू निर्वाचित भएपछि गौतमलाई जम्मा दुई पटक मात्र कार्यालयमा देखेको बताए।

स्वर्गद्वारी अपडेट | चैत्र १५ गते २०८२

प्यूठान।स्वर्गद्वारी नगरपालिकाका एक कर्मचारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदा पनि हाजिरी कायम गरिएको छ।प्राविधिक सहायक तहमा कार्यरत रेवन्त गौतम गत ६ महिनादेखि कार्यालयमा उपस्थित नभएको पाइएको हो।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीका अनुसार गौतम २०८२ असोज १४ गतेदेखि हालसम्म पालिकामा उपस्थित छैनन्। ‘पालिकामा प्राविधिक जनशक्ति अत्यन्त आवश्यक छ।’ उनले भने, ‘दुई वटा वडाको काम एउटै प्राविधिकले धानेका छन्, तर उहाँ भने काठमाडौंमै बस्ने गरेको जानकारी छ।’ कार्यालयमा अनुपस्थित कर्मचारीलाई तलब नदिन निर्देशन समेत  दिँदै आएको नगर प्रमुख भण्डारीले बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८२ असार ९ गतेको चलानी नम्बर १४७८ अनुसार गौतमको दरबन्दी स्वर्गद्वारी नगरपालिकामा कायम रहेको थियो। तर चालु आर्थिक वर्षभरि काठमाडौंमा बसोबास गर्दै आएका उनले ई–हाजिरी नगरे पनि हाजिरी पुस्तिकामा भने माघ मसान्तसम्म उपस्थित देखिएको स्रोतले जनाएको छ।उनले हाजिरी पुस्तिकामा भने अधिकांस समय काज काठमाडौं, काज बुटवल, घर बिदा, काज दाङ, ट्रेड काम, र उनको हस्ताक्षर समेत रहेको छ।       

यसबीच, असोज महिनामा गौतमले पेश्की स्वरूप केही रकम लिएको पनि कार्यालयले पुष्टि गरेको छ।सो अवधिमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराई थिए।

उपप्रमुख मिनराज राना मगरले आफू निर्वाचित भएपछि गौतमलाई जम्मा दुई पटक मात्र कार्यालयमा देखेको बताए।उहाँले तलब बुझेका छन् कि छैनन् भन्नेबारे म स्पष्ट छैन–उनले भने।

यस विषयमा थप जानकारी लिन स्वर्गद्वारी अपडेटले गौतमलाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइलमा घन्टी गयो तर फोन उठेन। गौतम नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनअन्तर्गत ट्रेड युनियनका केन्द्रिय निवर्तमान महासचिव समेत रहेका छन् भने हाल उपाध्यक्ष पदमा कार्यरत छन्।

उक्त घटनाले नगरपालिकाभित्र प्रशासनिक अनियमितता र निगरानीको कमजोर अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।

यो पनि पढ्नुहोस्