प्युठान।सुशासन र जवाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ।आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले जनप्रतिनिधि माथि प्रश्नै प्रश्न तेर्सिएको थिए।
बिहीबार माण्डवी गाउँलिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो।सहभागीबाट उठेका सवालको सम्बोधन गर्न पालिकाका जनप्रतिनिधिलाई हम्महम्मे परेको थियो।करिव ४ वर्ष अवधिमा जनप्रतिनिधिले चुनावका वेला गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दुःखेसो पोखेका थिए।
राजनीतिक दलका नेता, नागरिक अगुवासमेत गाउँपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे।जनप्रतिनिधि र कर्मचारीले भने राजनीतिक प्रतिशोधको कारणले राम्रा काम पनि प्रचार नभएको नागरिकको प्रतिउत्तर फर्काएका थिए।
स्थानीय युवा सुरज सुनारले ४ वटा प्रश्न पालिकाप्रति तेर्साएका थिए।फोहोर मैला व्यवस्थापन, कार्यालय समयमा कर्मचारी राजनीतिक कार्यक्रम पुगेको देखि बढी मुल्यमा रासायनिक मल बिक्री गरेका सम्मका बिषयमा उनको प्रश्न केन्द्रित थियो।
रासायनिक मल बढी मुल्यमा बिक्री गरेको बिषयमा यस्तो प्रकारका कमीकमजोरीमा एक पटक सम्म नैसियत दिन सकिने हुँदा आगामी दिनमा पुन:कमजोरी नदोर्याउने गरि माफ दिन सक्ने माण्डवी गाउँपालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बताए।यसै प्रश्नको प्रतिउत्तरमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी(रोशन)ले फरक मत राखेका छन्।उनले कारवाहीको प्रक्रिया अघि बढाई सकेको जवाफ फर्काएका थिए।रासायनिक मल बढी मूल्यमा बिक्री बिषयमा गत असार २९ गते स्वर्गद्वारी अपडेट अनलाइन र प्युठान छड्केबाट समेत समाचार प्रकाशन भएको थियो।जसमा अनुदानको मल साना किसान सहकारी संस्थाबाट २२ रुपैयाँमा खरिद गरि ३७ रुपैयाँ बिक्रि गरिएको थियो।
स्थानीय बोम सुनारले बजेट निर्माण गर्दा स्थानीयवासीसँग समन्वय र सहभागीता बिनानै बजेट निर्माण गरेको आरोप लगाए।उनले सरकारसँग ठुला योजनाको बजेट निर्माण गर्ने क्षमताको अवाभ हुँदा स-साना (टूक्रे) योजना धेरै भएको समेत प्रश्न तेर्साएका थिए।
फोहोर मैला व्यवस्थापनमा पालिका अध्यक्ष अधिकारीले फोहोर फाल्ने जग्गा नभेटिएको हुँदा फोहोर मैला व्यवस्थापन गर्न नसकिने स्पस्ट धारणा राखेका थिए।उनले माण्डवी बजार इलाका होटल व्यवसायी संघ र बजार इलाका उद्योग बाणिज्य संघलाई नै जिम्मा दिने उत्तर फर्काएका थिए।यसै बिषयमा स्वर्गद्वारी अपडेटले सोहि पालिकाको वडा -३ का वडाध्यक्ष धनेन्द्र कार्कीलाई प्रश्न गर्दा ऊनले पालिकाले फोहोर मैला व्यस्थापनमा छुट्याइएको ५ लाख वडालाई जिम्मा दिने हो भने २ हप्ता भित्र फोहोर मैला व्यवस्थापन गर्न सकिने जानकारी दिए। अध्यक्ष कार्कीले केहि दिन अघि फोहोर बोक्ने ट्रयाक्टरमा फोहोर उठाउदै हिडेका समेत थिए।
कार्यक्रममा कृषि एम्बुलेन्सको दुरुपयोग, नयाँगाउँ-उदयपुरकोट मोटरबाटो स्तर उन्नोती गर्ने, बिद्यालयमा तातो चिसो पानीको अभाव,बजेट निर्माण प्रक्रियामा त्रुटी लगायत बिषयमा सेवाग्राहीले जिज्ञासा राखेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा -१ का वडाध्यक्ष बाम बहादुर बुढाले कार्यक्रम सेवाग्राहीलाई पायक पर्ने ठाउँ नहुँदा जनताको प्रश्नबाट सरकार भागेको समेत सामाजिक संजालमा लेखेका थिए।सोहि कार्यक्रममा वडा -१,३ र ५ को वडाध्यक्षहरु सहभागी थिएनन।








