प्युठान । प्युठानको सरुमारानी गाउँपालिका ४ बड्डाडामा रहेको जनता माविमा बस सञ्चालनमा ल्याइएको छ । जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ। जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको गाउपालिकाले जनाउको छ । गाउँपालिकाबाट विनियोजित ३५ लाख २३ हजार रुपियाँमा स्कुल बस खरिद गरिएको हो ।
गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्माले सरुमारानी ४ बड्डाडामा स्कुल बसको उद्घाटन गर्दै स्कुल बस सञ्चालनपछि बिद्यार्थीलाई आउजाउका लागि सहज हुने बताउनुभयो
उहाले भन्नुभयो, ‘ दैनिक हिड्नुपर्ने बालबालिकाको दुःख देखेर स्कुल बस खरिद गर्ने निर्णय गरेका हौँ ’
सरुमारानिको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै आफूलाई साथ दिन उहाले आग्रह गर्नुभयो ।
शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पुग्ने अध्यक्ष विश्वकर्माको भनाइ रहेको छ ।
शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधिको सक्रीय पहलले सिंगो विद्यालय परिवारलाई उत्साहित बनाएको विद्यालय व्यबस्थापन समितीका अध्यक्ष टिकाराम पल्लीले बताउनभयो ।
गाउँमा विद्यालय नहुँदा चार घण्टासम्म पैदल हिडेर आउजाउ गर्नुपर्ने बालबालिकाको शिक्षाका लागि बस सेवा प्रभावकारी हुने बिश्वास गरिएको छ।बस नहुँदा हपुरखोला,छत्तिवनदमार, मोतिपुर, कुँडुले लगायतका बालबालिकालाई दैनिक २२ किलोमिटर बाटो हिड्नुपर्ने बाध्यता थियो।
बस सञ्चालनमा आएपछि पैदल हिडेर स्कुल पुग्ने झण्डै एकसय तीस विद्यार्थी लाभान्वित हुने छन्। वि.सं २०१५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १०सम्म पढाई हुने गरेको छ। हाल यस स्कुलमा ६ सय ३० जनाविद्यार्थी अध्ययनरत रहेको प्रधानध्यापक गोपाल भुसालले जानकारी दिनुभयो।