समय : ११:०१ am | बिहिबार , फागुन १४ गते २०८२

श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

स्वर्गद्वारी अपडेट | माघ २३ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन् । ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ । आज साेमवार बिहान दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएकाे थियो । बिहान ७ बजेतिर कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर ज्यान गएको बयान दिएका थिए । उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो । मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धान अगाडि बढाएको थियो । सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । बुढाथोकीका श्रीमान्–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए । श्रीमान्–श्रीमतीले सडकमा सँगै काम गर्दै आएका थिए । आइतवार बेलुका साढे ७ बजेतिर काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएका प्रहरीले बताएको छ । रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमानले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान गएकाे खुलेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्