आइतवार आज ७३औँ प्रजातन्त्र मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप नागरिकको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहाल प्रचण्डले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्नुभयो।
उहाँले देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको भन्दै नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै नागरिकको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभुत दिलाउन लागिपरेको बताउनु भयो।
उहाँले अर्थतन्त्रका चुनौतीहरूको सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा देशमा दिगो शान्ति स्थापित गर्न सरकार दृढ रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनहरूप्रति उच्च सम्मानसहित समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण आग्रह गर्नुभयो । उहाँले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट नागरिकलाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप नागरिकको अवस्था बदल्ने महत्त्वपूर्ण कार्यभार आफ्ना सामु रहेको बताउनु भयो ।
वृहत्तर राष्ट्रिय सहमति अहिलेकाे आवश्यकता : प्रधानमन्त्री प्रचण्ड








