समय : ०७:२४ pm | बिहिबार , कार्तिक २७ गते २०८२

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरौँः मुख्यमन्त्री आचार्य

नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ।

स्वर्गद्वारी अपडेट | कार्तिक १८ गते २०८२

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने बताएका छन्। मंगलबार देउखुरीमा सम्पन्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले बिरामीको चाप बढ्दै गएपछि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका हुन्।

आचार्यले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने योजना बनाउन मन्त्रालयलाई निर्देशन दिएका छन्। साथै उनले जिल्ला तहका अस्पतालहरूको सेवा सुदृढ गर्न, उपचार गर्न सकिने बिरामीहरूलाई अनावश्यक रूपमा रिफर नगर्न र सरकारी अस्पतालबाट निजी अस्पतालतर्फ रिफर गर्ने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिए।

“जिल्ला अस्पतालमै उपचार हुन सक्ने केसहरू पनि अनावश्यक रूपमा प्रादेशिक अस्पताल पठाइन्छ। यसले भीड बढाउँछ। सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ,” उनले भने। मुख्यमन्त्री आचार्यले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं। स्वास्थ्यका सूचकहरूमा सुधार देखिएको छ, पोषणमा सुधार आएको छ, मातृ र बाल मृत्युदर घटाउने अभियानहरू सञ्चालनमा छन्।”

देउखुरीस्थित भालुवाङमा ५० शय्याको आधुनिक अस्पताल सञ्चालनमा आएको छ। नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँचीमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको छ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ, जसले महिला, बालबालिका र परिवारको स्वास्थ्य तथा पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूको पदपूर्ति गरिएको छ।

साथै आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा ‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू गरिएको छ, जसले स्वास्थ्य सेवा प्रविधिमैत्री बनाएको छ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापन सुदृढ बनाइएको छ। नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ।

यो पनि पढ्नुहोस्