प्युठान।माण्डवी गाउँपालिका प्यूठान भित्रका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण भएको छ।स्वास्थ्य क्षेत्रको सुधारका लागि सेवाग्राहीको स्वास्थ्यलाई लक्षितगरि कार्यक्रम सुरु भएको थियो।माण्डवी गाउँपालिका ४ स्थित उदयपुरकोट स्वास्थ्य चौकीमा आइतवार परिक्षण कार्यक्रम गरेसंगै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष नवराज अधिकारी रोशनले स्वास्थ्य क्षेत्रको विकासका लागि सिंगो पालिका संवेदनशील रहेको बताए। ‘भौगोलिक विकटताले गर्दा पनि काम गर्न निकै कठिनाइ भएको छ।’ अध्यक्ष अधिकारीले भने–‘आमागी बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेछौं।’ स्वास्थ्य क्षेत्रमा पालिकाले धेरै राम्रो काम गर्दै आएको बताउदै अब स–साना कुराहरुलाई पनि मध्यनजरमा राखेर काम गर्ने उनले बताए।

स्वास्थ्य क्षेत्रमा भएका कतिपय कमजोरीहरुलाई स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर लैजाने माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले बताए।
गाउँपालिकाको ५ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनताप्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुशासनको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो। स्काई ल्याण्ड मल्टिमिडिया प्रा.लिको सहजीकरण र माण्डवी गाँउपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा आमा समुह, स्वयमसेवीका, महिला समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्थानियवासी लगायतका सहभागीता रहेको थियो।
स्वास्थ्य चौकीबाट र स्थानियसंग तथ्याङ्क संकलन गरि स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकिकरण नागरिक भेला गर्दै आइरहेको हो।भेलामा समुदायद्वारा प्रस्तुत गरेका जिज्ञासाहरुको स्वास्थ्य शाखा कार्यरत कर्मचारी एवं प्रमुख, सम्बन्धित वडाका वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुले स्पष्ट पारेका थिए।

गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधामा आफुहरु सन्तुष्ट रहेको सेवाग्राही जनताले आफ्ना धारणा राखेका थिए।