१२ असार, प्यूठान । नौबहिनी गाउँपालिका ८ फोप्ली स्वास्थ्य चौकीबाट स्वास्थ्य क्षेत्रमा नौलो कामको सूरुवात गरिएको छ । घरमै सुत्केरी हुने समस्यालाई न्युनिकरण गर्ने मुख्य उदेश्यका साथ वडा नं. ८ निवासी प्रत्येक गर्भवती महिलाहरुको घर–घरमा रातो झण्डा अभियान थालिएको हो ।
फोप्ली स्वास्थ्य चौकीले गर्भवती अवस्था जोखिम अवस्था भएकाले सबैको ध्यान केन्द्रित गर्नका लागि घर घरमा रातो झण्डा राखिएको फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताए । ‘गर्भवती महिलालाई सवैलाई ध्यान दिनु पर्छ भन्ने सन्देश दिनका लागि गर्भवती रहेका प्रत्येक घरधुरीमा रातो झण्डा राखिएको हो ।’ प्रमुख घिमिरेले भने–‘करिब ३० टोलमा पुगेर Rapid Response Team For Pregnant Mother (PM-RRT) गठन गरिसकेका छौं ।’ स्वास्थ्य आमा समुहका सदस्य एवं स्वत स्फुर्त रुपमा सेवा गर्ने दृढताका साथ टिममा आउने महिला दिदिबहिनीहरुलाई राखेर (PM-RRT)गठन गरिएको उनले बताए ।
वडाको सवै टोलमा गरि आठ सय जति स्वास्थ्य आमा समुह सदस्य रहेको बताउदैं ३० जना टिम लिडर भएको बताए । यसरी सञ्जाल गठन भएसंगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्न थालेको घिमिरेले बताउछन् । वडाको भौगोलिक संरचना दुर्गम र स्ट्रेचरको अभाव समेत थियो । यो टिम गठन गरेसंगै टिम लिडर मार्फत प्रत्येक टोलटोलमा एक–एक वटा स्ट्रेचरको व्यवस्था गरिएको उनले जानकारी दिए । कुनै टोलमा स्ट्रेचरको व्यवस्था भईसकेको कुनै टोलमा आवस्यकताका आधारमा तुरुन्त व्यवस्था गरीने बताए ।
उक्त टिम लिडरलाई गर्भवती भएको थाहा पाउने वित्तिकै र पछि पनि नियमित ८ पटक सम्म गर्भवती चेकजाँच गराउने, सुरक्षित मातृ तथा नवजात शिशु सेवालाई प्रभावकारी बनाउने, अप्ट्यारो परेका बेला सहयोग गर्ने, गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्था सम्म पुर्याउन सहयोग गर्ने लगायतका जिम्मेवारी दिइएको घिमिरेले जानकारी दिए ।
स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी, महिला सामुदायीक स्वास्थ्य स्वयंम सेवीकाहरुको सम्पर्क समन्वयमा रही काम गर्ने लिडरहरुले प्रतिवद्धता समेत जनाएका छन् । रातो रङले प्रेमको प्रतिक, सकारात्क उर्जा प्रदान गने र खतराको चिन्ह पनि भएकाले रातो रङको भण्डा गर्भवती महिला भएको घरको धुरीमा राखेको हो ।