समय : ०५:४३ am | आइतबार , भाद्र २२ गते २०८१

नौबहिनीमा उत्पादन बढाउन माटो परीक्षण

स्वर्गद्वारी अपडेट | जेठ ३१ गते २०८१

प्युठान।उत्पादनमा वृद्धि गर्ने अभियानका साथ प्युठानको दुई स्थानीय तहहरुमा  कृषकहरुको खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको छ ।एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयोजना  र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा सरुमारानी गाउँपालिका र नौबहिनी गाउँपालिकामा रहेका माटो परिक्षण गरिएको छ ।

बुधबार  नौबहिनी गाउँपालिकाको बाहानेमा १ सय ३५ जना कृषकहरुको कृषियोग्य  जमिनको  माटो परिक्षण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख समुन्द्र केसीले बताए । पालिकाका सबै वडाबाट कृषकहरुले संकलन गरेर शिविरसम्म ल्याइएको माटोलाई परिक्षण गरिएको उनले बताए।

नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले माटो परिक्षण कृषि जगतमा निकै महत्त्वपूर्ण खुड्किला भएको बताए । पालिकाका हरेक वडामा यसलाई अभियानको रुपमा लगेर वस्तुवादी नतिजा दिन सके आत्मनिर्भर कृषि उत्पादनमा ठुलो राहत हुने अधिकृत पौडेलको भनाई छ।

त्यस्तै मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४ जनाको कृषि योग्य  जमिनबाट ल्याइएको स्याम्पलबाट सुरु गरिएको माटो परिक्षण कार्यक्रम ऐरावतीमा गएर समापन गरिने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले माटो परिक्षण कार्यक्रमले कृषि उत्पादनको सम्भाव्यता अध्ययनमा ठुलो सहयोग गर्ने हुनाले यो  कार्यक्रम हरेक कृषियोग्य जमिनमा अनिवार्य रहेको  बताए ।

माटो परिक्षण खेती गर्नुपूर्व गरेर सोहो अनुरुपको बीउविजनको  वितरणमा ध्यान दिन सके कृषि उत्पादनमा मुनाफा हुने मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका माटो प्राविधिक तिलकबहादुर केसीले बताए । उनले विभिन्न निकायहरुको  सहयोगमा लुम्बिनी प्रदेशका सबै जिल्लामा माटो परिक्षण अभियान थालिएको पनि बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्