असार ५ ,प्युठान । प्यूठान जिल्लाका कृषकहरु ड्रागन खेती तर्फ आकृषित हुन थालेका छन् । सरुमारानी गाउँपालिका २ दरभानबाट सुरु भएको ड्रागन खेती स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका हुदै हाल माण्डवी गाउँपालिका सम्म आइपुगेको छ ।
माण्डवी गाउँपालिका ३ लामाचौर स्थित नारायणी कृषि फर्ममा ड्रागन फ्रुटको खेती सुरु भएको छ । देविराम भण्डारीले ५ लाख लगानीमा ड्रागन खेती सुरु गरेको बताउछन् । ‘करिब २ रोपनीमा जमिनमा ड्रागन सुरु गरेको छु ।’ कृषक भण्डारीले भने– ‘अहिले मेरो फर्ममा ६ सय ७५ वटा ड्रागन फ्रुटको बिरुवाले फल दिन थालेका छन् ।’ सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटको बिरुवा सहजै हुर्कने र उत्पादन समेत राम्रो हुने उनी बताउछन् । प्रति बिरुवा रुपियाँ ३ सय ५० मा खरिद गरेर उनले बताए ।
‘राम्रो फल लागेमा पहिलो सिजनमै २ लाख आम्दानी गर्न सकिन्छ ।’ उनले भने–‘गाउँपालिकाले सहयोग गरेमा बजारीकरणको समस्या नपर्नेमा विस्वस्त छु ।’ कृषक भण्डारी दम्पतीले ड्रागन खेती गर्न सुरुमै निकै मेहनत गर्न परेको बताउछन् ।
विरुवा हुर्किसकेपछि ड्रागनलाई अन्य बालीको जस्तो सिँचाइ नचाहिने, सुख्खा क्षेत्रमा पनि बिरुवा फस्टाउने र हेरचाह पनि खासै नचाहिन उनले बताए । गाईवस्तुको कम्पोस्ट मल भए पुग्ने र विषादी तथा युरिया मल आवश्यक नपर्ने हुदाँ शुद्ध अर्गानिक फल भएकोले स्वास्थ्यको लागि निकै फाइदाजनक भएको उनीले बताउछन् । ड्रागनको फल बाट पहिलो सिजनमै करिव ३ सय किलो जति फल फलाउने अनुमान गरेको भण्डारी भनाई छ ।
‘पहिला हामीले गोलभेडा, आलु र सिजनेबल तरकारी खेती गर्थौ आम्दानी भएपनि मेहनत ज्यादै गर्नु पथ्र्यो ।’ फर्म सञ्चालक नारायणी भण्डारीले भनिन्–‘छोरा घनश्यामको सल्लाह अनुसार ड्रागन फ्रुट खेती सुरु गरेका छौं ।’ ड्रागन फ्रुटको बोट एक पटक रोपेपछि २०/२५ वर्षसम्म उत्पादन दिइरहने हुदाँ फाइदाजन र सजिलो व्यवसाय भएको उनी बताउछिन् ।
पालिकाले बजारीकरण गर्ने र पालिका भित्र रहेको ईच्छुक कृषकहरुलाई सहजिकरण गर्दिनु पर्ने हो तर, राजश्व बृद्धिमा मात्र ध्यान केन्द्रित गरेको कृषक दम्पतीले गुनासो गरेका छन् । कृषि अनुदान मार्फत तार जाली उपलब्ध गराउने हो भने अझ सुरक्षित र व्यवस्थितरुपमा हुने उनले बताए ।