फागुन १० गते २०८०
07:54: AM
फागुन १० गते २०८०
07:54: AM

नेपालको यातायात क्षेत्रमा रहेका समस्या र समाधानहरु

कार्तिक २६ गते २०७९
2:51 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
काशीराम उपाध्यायमानिस र सामान एक ठाउँबाट अर्को ठाउँ ओसार पोसार गर्ने महत्वपूर्ण अंग यातायात हो । हामीलाई अवगत नै छ यातायातको माध्यम भनेको सडक, हवाई, रेलवे, पानीजहाज हो । नेपाल भूपरिबेष्ठित राष्ट्र भएकोले पानीजहाजको सम्भावना ज्यादै न्यून छ । नेपालमा रेलवेको सुरुवात वि.सं. १९२७ मा चन्द्र शम्शेरले गरेता पनि हाल सम्म रेलवेको विकास नहुँदा नेपालको विकासमा कमी देखिएको हो । हाम्रो छिमेकी देश भारतको विकासमा महत्वपूर्ण भूमिका रेलवेको छ । विभिन्न अध्ययनकर्ताका अनुसार रेलवेको विकास नभएको कारणले गर्दा देशको विकास हुन नसकेको देखिन्छ । धेरै पहिला नै रहेका रक्सौल – अम्लेखगंज रेलवे, नेपाल जनकपुर – जयनगर रेलवे, धरान – चतरा रेलवेलाई निरन्तरता दिन र थप रेलवेको विकास गर्न नसक्दा नेपालले यातायात क्षेत्रमा ठूलै क्षति बेहोर्नु परेको छ । जसको कारणले गर्दा पनि नेपालको आर्थिक र सामाजिक प्रगति नभएको देखिन्छ । हवाई यातायाको लागि नेपालको कठिनाई भौगोलिक अवस्था हुनु, मौसम परिवर्तन भईरहने हुनु र सडक यातायात भन्दा हवाई यातायात महँगो हुने हुँदा नेपालको लागि सबैभन्दा उपयुक्त यातायातको माध्यम सडक नै हो । हाल नेपालमा लगभग एक लाख कि.मी सडक रहेता पनि बीस प्रतिशत (२०५) सडक मात्र पक्की छ । राष्ट्रिय योजना आयोगको स्थापना काल १९५६ देखि नै सडक पूर्वाधार निर्माणको लागि पहिलो प्राथमिकता दिए पनि हाल सम्म रहेको सडकको भौतिक अवस्था वा २० प्रतिशत सडक मात्र पक्की गरिएको छ । जसबाट नेपालको भौतिक विकासको गति सजिलै मापन गर्न सकिन्छ । नेपाल टाइम्स अनुसार, सन् २०१४ देखि सन् २०२१ सम्म लगभग ७५६०० सडक दुर्घटना भएको देखिन्छ । जसको कारण प्रत्येक बर्ष लगभग चार हजार जना नेपालीले अल्पायुमै ज्यान गुमाउनु परेको छ । सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, द्रुतगतिमा सवारी चलाउनु, मा.प.से. गरेर सवारी चलाउनु र सवारी साधनको खराबी भन्ने लागेता पनि यी कारणहरु भन्दा निकै ठूलो कारण नेपालका सडक “सडक मापदण्ड” विपरित निर्माण हुनु हो । नेपालका अधिकांश सडकमा हुनुपर्ने न्यूनतम मापदण्डहरु जस्तै सडकको चौडाई, सडकको चढाइ (Road Gradient ), सडकका घुम्तीहरुमा हुनुपर्ने अर्धव्यास (radius of curve), सडक सुरक्षा मापदण्डको पालना नगरि बनाइएका छन् । इन्जिनियरिङ्ग नीति अनुसार लागत अनुमान तयार गर्दा, लागत अनुमान र वास्तविक लागतमा जम्मा ५ प्रतिशत मात्र फरक हुन पाउँदछ तर नेपालका अधिकांश ठेक्काहरुमा ठेकेदारहरुले ठेक्का रकम वा लागत अनुमान रकम भन्दा ५० प्रतिशत घटी आयोजनाको ठेक्का लिँदा समेत नाफा गरी आफ्नो व्यवसाय चलाएको हामीले स्पष्ट देखिराखेका छौं । जसबाट हामीले के थाहा पाउँन सकिन्छ भने कि इन्जिनियरहरुले लागत अनुमान नै बनाउन नजानेको देखिन्छ, कि त ठेकेदारहरुले कामको गुणस्तर घटाइ आयोजना पूरा गरेको देखिन्छ । हामीले देख्दै आएका सडकहरुमा कुनै पनि काम गुणस्तरको नभएको स्पष्ट देख्छौं । जस्तै बनाएको एक बर्ष नपुग्दै सडकमा खाल्डा–खुल्डी देखिनु, सडकमा बनाइएका ठूला–ठूला पर्खालहरु आयोजना सम्पन्न नहुँदै भत्किनु र एक बर्षको समय अवधिमा नै धेरै सडक पुल भत्किएको समाचार आउनु । के यी सबै समस्याको कारण इन्जिनियर र ठेकेदारको लापरवाही हो त ? यो सबै समस्याको समाधान गर्नका लागि देशको राजनीतिक नेतृत्व निष्ठावान, इमान्दार, बौद्धिक भएमा मात्र देशका कर्मचारीलाई कुशल परिचालन गर्दै, खरीद ऐनमा सुधार गरी ठेकेदारलाई जवाफदेही बनाई कार्य गर्न सकेमा देशले सडक यातायात क्षेत्रमा भोग्दै आएको समस्याबाट छुट्कारा पाउनेछ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page