लव कुमार अधिकारी
संसारमा भएका युगान्तकारी परिवर्तनमा युवाहरूको अग्रणी भूमिका रहेको छ । अब समाज बदल्ने नै हो भने मुख्य साधन राजनीति बदल्नै पर्छ । युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा राजनीतिक दलको पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या छ । हिजो मेरा बाउ बाजेले फलानो पार्टीको झण्डा बोकेका हुन् अब मैले पनि त्यसैलाई निरन्तरता दिनुपर्छ भन्ने मानसिकता आजका युवाले बोक्न छाड्नु पर्छ । देशका सबै युवाले यसैगरी सोच्न थाले भने व्यवस्था नै परिवर्तन सम्भव छ ।
नेपालको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा यहाँका राजनीतिक दलका प्रायः सबैका अलग – अलग भातृ संगठनहरू छन् र ती संगठनहरूमा धेरैजसो युवाहरूको संलग्नता छ । यसरी युवाको सहभागिता धेरै हुनु र ती संगठनमा उनीहरूको नेतृत्व समेत हुनु झन् राम्रो पक्ष हो । अर्को कुरा युवाले नेतृत्व गरेको संगठनबाट समाजले नयाँ कुराको अपेक्षा गर्नु झन् राम्रो पक्ष हो । युवाप्रतिको आशा, विस्वास र भरोसा समेत हो । तर, समाजले उनीहरूसँग जे अपेक्षा गरेको छ त्यो प्राप्त गर्न नसक्नु र युवालाइ त्यो भुमिका दिन नसक्नु भने दुःखद कुरा हो । समाजले युवासँग अपेक्षा गरेको अर्को कुरा युवाले कुनै एक दलको नेताको भक्तको रूपमा जीवन व्यतीत नगरी आफू आबद्ध दलको नेता र त्यो दलले लिएको कार्यशैली दलको गलत क्रियाकलापको ढाकछोप गरी जनतालाई भ्रम छर्ने खालको निर्णय भएमा आफु निडर भएर आफ्नो विचार ,व्यत्त गर्न सक्नु असल राष्ट्रप्रेमी युवाको दायित्व हो ।
कहिल्यै बजेटमा चासो नराख्ने युवाहरुले यो वर्षको बजेटलाई नियालेर हेरेका छन् । कुन बजेट कहाँ राख्नु पथ्र्यो, कति राख्नु पथ्र्याे समेत हिसाब गरेर मौखिक नै भन्न सक्छन । सरकार र प्रतिपक्ष दलको भूमिकालाई केलाउँदै के कस्ता छन् ? हिजो आफु सरकारमा हुदा के गरे र आज सरकार भन्दा बाहिर हुदा के गरे ? समेत राम्रो संग छुट्याउन सक्ने भएका छन । साथै अबका युवा कुनै दलको ह्वीपमा भन्दा पनि आफ्नै चेतनाको आधारमा परिचालित हुन्छन् भन्ने सन्देश दिएका छन् । देशका युवा यसरी स्वतस्फुर्त रुपमा एकजुट भई बिसंगतीका बिरुद्ध उठ्नु स्वतन्त्र राजनीतिक संस्कारको सुरुवात हो । देशका सबै युवाले उसैगरी सोच्न थाले व्यवस्था नै परिवर्तन हुन्छ । हामीले ‘समृद्द नेपाल, सुखी नेपाली’ भन्ने नारालाई यथार्थमा बदल्नु छ भने अबका युवाले आफूलाई राजनीतिका क्षेत्रमा पनि चेतनशील बनाउनै पर्छ ।
त्यस्तै नेपाली युवाको अर्को महत्वपुर्ण समस्या भनेको बेरोजगार हो । लाखौं युवा स्वदेशमा रोजगार नपाएर रोजगारको लागि बिदेशीन बाध्य भएका छन् । अझै लाखौं युवा कामको खोजीमा स्वदेशमै भौंतारिएर बसेका छन् । उच्च शिक्षा अध्ययनको प्रमाणपत्र हुदा हुदै पनि हजारौं ऊर्जाशील, गतिशील, श्रमशील युवाहरु विना काम बस्न बाध्य छन् । बेरोजगार भयो भने कुलत तथा दुव्र्यसनमा फस्नु हो । आज पनि हजारौं युवा कुलत तथा दुव्र्यसनको प्रत्यक्ष सिकार भएका छन् । उनीहरू विभिन्न लागूपदार्थको प्रयोग गर्छन् । अहिले यी समस्याहरु सामाधान कसरी गर्न सकिन्छ भनेर राज्य नै अलि गम्भीर भएर सोच्नु पर्ने हो तर, यी गम्भीर बिषयमा राज्य नै कमजोर छ ।
पार्टी नेताहरुले कार्यकर्ता जन्माउने भन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउन बढी रुचाउछन । आफुले गरेको हरेक निर्णयलाई सहि छाप् ठोके मात्र नेताको नजरमा असल कार्यकर्ता हुन्छन । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ । युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोत–साधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन् । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा कहाँ अटाउँछ ? युवालाई युवा संगठन अनि विद्यार्थी संगठनको नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने नेता भानौदहरु संग प्रतिकार गर्न सके केहि समय पछी अवस्य धेरै युवाहरु आफ्नो देशमा केही अवसर छैन भन्दै बिदेशी भूमीलाई रोज्ने गर्छन्। आफ्नो देशका सक्षम युवाहरुले देशको स्थितिमा ध्यान नदिँदा नयाँ आउने पुस्ताहरुलाई झन् अवसर नै नहुने हो कि अनुमान लगाउन सजिलैसँग सकिन्छ । युवाले पार्टी कार्यकर्ताका रूपमा मात्र नभएर स्वतन्त्र विचार विमर्श गर्ने समूहका रूपमा पनि सहभागी भएर राजनीतिलाई दिशानिर्देश गर्न सक्नुपर्छ । आफ्नो नेता अनि प्रतिनिधिलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ। राजनीतिक दलभित्रै पनि आफ्ना नेताहरूलाई दबाब दिन सक्नुपर्छ । अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने फेरि हाम्रो राजनीति अनि हामी अघि बढ्न सक्दैनौ ं। अब प्रत्येक युवाले आफ्नो ताकत र क्षमतालाई चिनेर अगाडि आउनै पर्छ । हरेक युवालाई आफ्नो क्षमताको पहिचान हुदै आफूप्रति भरोसा हुनुपर्छ । अनि युवाले देश सम्हाल्नुपर्छ र नयाँ पुस्तालाई समृद्ध नेपाल देखाउनै पर्छ ।
लेखक. रेडियो स्वर्गद्वारी एफ .एम. प्युठानको स्टेसन म्यानेजर हुन ।