अनुज पछाई,प्यूठान । प्यूठानमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो । जिल्लाका १४ हजार ६ जनाले राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठानमा २०७७ साल श्रावणबाट सुरु भएको परिचय पत्र विवरणको फर्म भर्ने कार्यमा आव २०७७÷७८ मा १० हजार ४५१ ले विवरण भरेका थिए । त्यस्तै यस चालु आव २०७८÷७९ मा ३ हजार ५५५ जनाको राष्ट्रिय परिचयपत्रको लागी विवरण बुझाएको प्रशासनले जनाएको छ ।
परिचयपत्रको कार्ड भने हहिलेसम्म कसैलाई पनि वितरण गरिएको छैन । विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ । कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएका कारण सेवा प्रवाह चुस्त भएको हो ।
अहिले जिल्ला प्रशासन कार्यालयले टोक प्रणली अनुसार बार प्रणली लागु गरेको छ । दिनमा ४० जनाको मात्र विवरण भर्न सकियतापनि प्यूठानमा ५० देखि ६० जना सम्मको पनि विवरण भर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी मेगराज सोनीले बताएका छन ।
सेवाग्रमहीको बढदो आकर्षणलार्ई मध्यनजर राख्दै अतिरिक्त समय सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन् ।