भारतमा प्रचण्ड गर्मीका कारण उड्दै गरेका चरासमेत झर्न थाले
स्वर्गद्वारी अपडेट
वैशाख २९ गते २०७९
3:55 PM
स्वर्गद्वारी अपडेट
अहमदावाद । घाइते पशुपंछीको उद्धारमा संलग्न स्वयम्सेवकहरुले भारतको पश्चिमी राज्य गुजरातमा दैनिक दर्जनौँ थकित र तिर्खाइएका चराहरू भेट्न थालेका छन्। पशुपन्छी चिकित्सक र प्राणी उद्धारकका अनुसार गुजरातमा बढ्दो तापक्रम र लुका कारण चराले समेत पानी पाइरहेका छैनन्।
गुजरातमात्र होइन, भारतभर प्रचण्ड गर्मीका तातो हावाको लहर चल्न थालेको छ। यसले देशको अधिकांश भाग सुक्खा बनेको छ। गैर–नाफामूलक संस्था जीव–दया ट्रस्टद्वारा सञ्चालित एउटा पशुपन्छी अस्पतालका चिकित्सकले केही सातामै अस्पतालले हजारौँ चराहरूको उपचार गरेको जानकारी दिए।
तिनका अनुसार बाजजस्ता उचाइमा उड्ने चरासमेत दैनिक दजनौँ उड्न नसेको अवस्थामा भेटिन थालेको छ। बाटामा भेटिएका चराहरू पानीको कमीले कमजोर भएर उड्दा उड्दै झरेको अनुमान छ। बुधबार जीव–दया ट्रष्टले सञ्चालन गरेको अस्पतालमा अल–जजिराका पत्रकार पुग्दा पशु चिकित्सकहरू कयौँ चराहरूलाई सिरिन्जमार्फत पानी खुवाइरहेका थिए। केहीलाई पानीमा मल्टी–भिटामिनसमेत मिसाइएको थियो ।
गुजरातका स्वास्थ्य अधिकारीले बढ्दो गर्मीका कारण उत्पन्न हुने रोगको उपचारको लागि मानव अस्पतालमा विशेष वार्डको व्यवस्था गर्न निर्देशन जारी गरेका छन्।
जलवायु परिवर्तनको असर, प्रचण्ड गर्मी र तातो लहर
विश्वव्यापी जलवायु परिवर्तनका कारण संसार पछिल्लो समय बाढी, खडेरी, डढेलो र आँधी बढिरहेको छ। दक्षिण एशियामा आउने लू विगतमा भन्दा धेरै र थप बलशाली बन्दै गएको छ। यसको पछाडि पनि जलवायु परिवर्तनकै असर रहेको वैज्ञानिकहरूले बताएका छन्।‘विश्वभर अहिले प्रचण्ड गर्मी र तातो हावाको लहर बलियो भन्दै गएको छ। यसका पछाडि मानवसिर्जित जलवायु परिवर्तन नै जिम्मेवार छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका शोधकर्ता बेन क्लार्कले बताए।