अनुज पछाई , प्यूठान ।प्यूठानमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ । मौन अवधिदेखि ३० वैशाख अथार्त मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको प्यूठान जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।
त्यस्तै मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।