स्वर्गद्वारी अपडेट समचार डेक्स ।ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र आमा घाइते छन् ।गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ ।घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, उसैलाई बढी असर परेर बित्यो,’ वडा अध्यक्ष शेर्पाले भने । उनका आमा र बुवाको भने जिल्ला अस्पतालमा उपचार भएको छ ।