स्वर्गद्वारी अपडेट प्युठान । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ ।
शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।
बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । जबकि बिहान भएको छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।